समाज

बिर्ख बिकको नौटंकी – ब्लड क्यान्सर भएको नाटक गरेर करोडौं असुली

हिमालय टिभी
२०८१ फागुन १२ गते १७:१३
बिर्ख बिकको नौटंकी – ब्लड क्यान्सर भएको नाटक गरेर करोडौं असुली

काठमाडौं : नेपालमा सामाजिक सञ्जालको राम्रो पक्ष जति छ, उति नै खतरनाक पक्ष पनि देखिन थालेको छ।

कहिलेकाहीं यस्तो नाटक मञ्चन हुन्छ कि हेर्नेहरू नै दंग पर्छन्। यस्तै एउटा नौटङ्कीको पात्र बने, गायक बिर्ख विश्वकर्मा। बिर्ख विश्वकर्मा जो सामान्य लोकगायक हुन्।

आवाज राम्रो थियो, गीतहरू गाएका थिए, तर जीवनमा खासै ठूलो उपलब्धि हासिल गर्न सकेका थिएनन्। सायद यही कारणले उनले अर्को बाटो रोजे— सहानुभूति बटुल्ने, झूटो नाटक गर्ने, अनि पैसाको वर्षा गराउने।

कालो वर्ण,मोटोघाटो खाइलाग्दो ज्यान भएका बिर्ख बिश्वकर्मा। झट्ट हेर्दा लाग्छ कुनै फिल्ममा नायक जस्तो। तर विश्वकर्मा नायक होईन ठग हुन्।

एक दिन अचानक सामाजिक सञ्जालमा बिर्ख देखा पर्छन्, निकै भावुक मुद्रामा। उनले आँखाबाट आँसु झार्दै आफूलाई ‘ब्लड क्यान्सर’ भएको घोषणा गर्छन्। भन्छन्, “म एक्लो छु, मलाई बचाउनुहोस्।” अब यस्तो सुनेपछि नेपाली मन त पग्लिहाल्छ। मान्छेहरू सहानुभूतिमा भिज्न थाले। ‘हाम्रो भाइ बिर्ख’ भनेर लाखौँको चन्दा खस्न थाल्यो।

अब यो नौटंकीमा अर्को महत्वपूर्ण पात्र पनि जोडिन— मोडल सञ्चिता शाही। उनले बिर्खलाई ‘मेरो प्यारो भाइ’ भन्दै फेसबुकमा सहयोगको अपिल गर्न थालिन्। दिनहुँ रुँदै भिडियो हाल्थिन्, बिर्ख बचाउन सबैलाई आग्रह गर्थिन्।

सँगै बसेर अन्तर्वार्ता दिन्थिन्, पत्रकार सम्मेलन गर्थिन्। हेर्दा लाग्थ्यो, उनी नै बिर्खको ढुकढुकी हुन्। यति मात्र कहाँ हो र? सञ्चिताले त बिर्ख भाइलाई किमो चढाउँदा महिनामा डेढ लाख खर्च हुन्छ सम्म भन्न भ्याएकी थिइन्।

अब दर्शक–श्रोताले बिचरा बिर्खलाई बचाउन के के गरेनन् होलान्। फेसबुक, टिकटक, युट्युब सबैतिर बिर्खकै चर्चा। नेपालभरिका दयालु मनहरू खुलेर पैसा दिए। कतिले बैंकमा सिधै खाता जम्मा गरे, कतिले भेटेरै नगद दिए। चन्दा यति उठ्यो कि डेढ वर्षमा करिब १ करोड पुग्यो।

बिर्खको विलासी जीवन

अब सोच्नुस् त, जसलाई ‘ब्लड क्यान्सर’ छ भनिएको थियो, उसले के गर्थ्र्य? अस्पतालमा बस्नु पर्ने हो, औषधि खानु पर्ने हो। तर बिर्ख चाहिँ के गर्दै थिए? दिनहुँ फेसबुकमा भिडियो हाल्दै थिए— प्लेन चढ्दै, विदेश जाँदै, सुटेड–बुटेड भएर एयरपोर्टमा फोटो खिच्दै। झन् हाँस्नुपर्ने कुरा त के भने, एयरपोर्टबाट बाहिरिँदा ह्विल चेयरमा आउँथे, मानौँ उनी गम्भीर बिरामी नै हुन्। तर त्यसपछि एकदम ठाटमा फोटो सेसन गर्थे, युट्युब अन्तर्वार्तामा हाँस्दै बोल्थे।

यो सब देखेर पनि मानिसहरूले उनलाई सहानुभूतिका कमेन्ट लेख्थे— बिर्ख भाइ, छिट्टै निको हुनुहोला।

अस्पतालको रिपोर्टले खोलिदियो बिर्खको झुट

भरतपुर अस्पतालको रिपोर्ट बाहिर आयो। त्यसमा ब्लड क्यान्सर त परको कुरा, कुनै गम्भीर रोग नै नभएको देखियो। खासमा उनलाई केवल आन्द्रामा घाउ थियो। ब्लड क्यान्सर भएको भनेर त उनले सुगरको औषधि देखाइरहेका रहेछन्१ यो रिपोर्ट सार्वजनिक भएपछि बिर्ख केही समय गायब भए। सामाजिक सञ्जालबाट टाप कसे। तर पछि फेरी नाटकीय रूपमा देखा परे।

श्रीमती र छोरासमेत लुकाए

अब अर्को रोचक तथ्य बाहिर आयो— बिर्खले ‘म एक्लो बेसहारा’ भनेका थिए, तर उनले श्रीमती र छोरा लुकाएको खुल्न आएको छ । खासमा उनी भारत श्रीमतीलाई भेट्न गइरहँदा रहेछन्। उपचारको नाउँमा विदेश जाने नाटक मात्र रहेछ।

सञ्चिता पनि फसिन्

ञ्चिताको भूमिकाबारे पनि प्रश्न उठ्यो। किनकि उनले नै बिर्खलाई बचाउन चन्दा उठाएकी थिइन्, उनले नै आँसु झारेर सहयोग मागेकी थिइन्। जब बिर्खको झुट खुल्यो, सञ्चिताले आफैँ पनि ठगिएको दाबी गरिन्।

कानुनी कारबाहीको माग

अब प्रश्न उठ्छ— बिर्खलाई कारबाही हुने कि नहुने? कानुन अनुसार, नेपालमा चन्दा उठाउन जिल्ला प्रशासनको अनुमति लिनुपर्छ। तर बिर्ख र सञ्चिताले अनुमति लिएका थिएनन्। चन्दा ऐन २०३० अनुसार, अवैध रूपमा चन्दा उठाए दुई वर्ष जेल र जरिवाना हुनसक्छ। तर अहिले सम्म बिर्खविरुद्ध कुनै कानुनी कारबाही भएको छैन। जबसम्म कुनै निकायमा उजुरी पर्दैन, तबसम्म उनी सजिलै उम्कन सक्छन्।

बिर्ख विश्वकर्माको ठगीकाण्ड एउटा गतिलो पाठ हो। यस घटनाले देखाएको छ कि, हामी सहानुभूति देखाउन अघि सर्छौँ, तर तथ्य जाँच्न चासो दिदैनौँ। यदि सुरुमा नै कसैले बिर्खको स्वास्थ्य रिपोर्ट मागेको भए, यो ठगी हुने थिएन। सबैले बुझ्न जरुरी छ— ठगी गर्ने तरिका परिवर्तन हुँदै गएको छ।

अब यस्ता ठगहरू सामाजिक सञ्जालबाट इमोसनल ब्ल्याकमेल गर्छन्। त्यसैले पैसा दिनुअघि सोच्नुपर्छ— के यो व्यक्ति साँच्चिकै पीडित हो? कि केवल पैसा उठाउने धन्दा गर्दैछ? त्यसैले सचेत बन्नुपर्छ, भावनामा बगेर पैसा नफालौँ, वास्तविकता पहिल्याऔँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *