कुलमानको यतिधेरै बचाउमा प्रचण्ड किन उत्रिएका होलान् ?

काठमाडौं : लोडसेडिङ हटाएर ‘नायक’ बनेका कुलमान घिसिङ अहिले सरकारका लागि ‘अप्ठेरो पात्र’ बनेका छन् ।
उता, माओवादीले भने उनलाई आफ्नै मान्छेझैँ च्यापेर राखेकोछ। एउटा साधारण कर्मचारीप्रति माओवादीको यस्तो मोह किन हाेला ? घिसिङको कामको ‘जस’ लिन खोजिएको हो, कि यो पुरानै ‘राजनीतिक साइनो’ हो ? के माओवादी सरकारले कुनै निकायमा नियुक्ति दिएका अर्को व्यक्ति हटाउन खोज्दा पनि घिसिङको पक्षमाजस्तै उभिन्छन् ? होइन भने यो निकटता र ढाडस केका लागि भन्ने प्रश्न उब्जिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताच्यूत भएपटि सोलोडोलो हिसाब गर्ने हो भने कुलमान घिसिङको बचाउमा खर्चिएको यो भाषण १०औँ पटक हो । अर्थात् प्रचण्ड र माओवादीका अन्य पदाधिकारीले यस विषयमा पटक-पटक सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । यतिसम्मकी केही पुस २१ मा बसेको केन्द्रीय समितिको बैठकमा समेत घिसिङको चर्चा भएको थियो । तर किन ?
किन माओवादी घिसिङको यतिधेरै बचाउमा उत्रिएको होला ?
आम जनमानसमा प्रश्न उब्जिनु स्वाभाविक हो । हुन त माओवादी र घिसिङको सम्बन्ध लोडसेडिङ अन्त्य गर्ने बेलामा मात्र नभई त्यसअघि देखिकै हो । सायद त्यसैले हो कि ?
हो, नेपाल विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमानले जुन ‘सुपरम्यान’ शैलीमा लोडसेडिङ हटाए, त्यसले उनलाई जनताको नजरमा नायक बनायो। यो त्यही समय थियो जब माओवादी केन्द्रले उनलाई नियुक्त गरेको थियो। लोडसेडिङ हटाउनु एक ठूलो उपलब्धि थियो, तर यसमा नेपाल-भारत प्रसारण लाइनजस्ता काम पहिल्यै अन्तिम चरणमा थिए भन्ने तथ्यलाई पनि नजरअन्दाज गर्न सकिन्न। माओवादी नेताहरूले बारम्बार यो सफलतालाई आफ्नो पार्टीको योगदानको रूपमा व्याख्या गर्दै आएका छन्। त्यसैले कुलमान-माओवादीबीचको सम्बन्ध लोडसेडिङबाट सुरु भएको मान्न सकिन्छ । तर धेरैले कृपा सिंहको पनि चर्चा गर्छन् ।
‘कृपा सिंह’ । यो नाम भएका व्यक्ति, माओवादी केन्द्रले गठन गरेको जलस्रोत, सिंचाई तथा ऊर्जा विभागको सदस्य हुन् । यो नाम कुलमानका दिवंगत पिताको नामसँग मेल खान्छ । र विभागका सदस्यको ठेगाना रामेछाप हो, जुन कुलमानको पुर्ख्यौली ठेगाना पनि हो । तर, यो चर्चा पुष्टि गर्न कुनै ठोस प्रमाण बाहिर आएको छैन। तर यसलाई संयोग मात्रै मान्न सकिएला त ?
अर्को रुपमा हेर्ने हो भने माओवादीले कुलमानलाई समर्थन गर्नुको प्रमुख कारण उनको लोकप्रियता हो। एकपटक लोकप्रिय बनिसकेपछि नेताहरूले उनलाई ‘राजनीतिक गोटी’ बनाउन खोज्नु अस्वाभाविक होइन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमा उनलाई समर्थन गर्दै उनको विरुद्ध लाग्नेहरूलाई ‘दलाल’को संज्ञा दिनु यसैको उदाहरण हो।
हुन त घिसिङको क्रियाकलापले पनि माओवादी निकट देखाउँछ नै । यसअघि २०७९ मा घिसिङ माओवादीको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिन खोजेको कुरा कतै लुकेको छैन । मंसिर १६ गते स्थानीय तहको उपचुनाव हुनुअघि उम्मेदवारको मनोनयनका क्रममा कीर्तिपुर पुगेर स्वतन्त्र उम्मेदवारलाई भेटेको तस्वीर नै साझा भएको थियो ।
ओली र कुलमानको तिक्त सम्बन्ध
घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध कतै न कतै राजनीतिक स्वार्थ, औद्योगिक दबाब, र नाफामुखी योजनाको द्वन्द्वमा आधारित देखिन्छ। विशेष गरी उद्योगहरूको लाइन काट्ने निर्णयले उद्योगीहरू र सरकारका शक्तिशाली पक्षलाई असहज बनायो। ओलीको नेतृत्वले यसलाई व्यक्तिगत असहमतिको रूपमा हेरेको देखिन्छ। जसलाई राम्री बुझेका घिसिङले माओवादीको आडमा अप्ठेरो पार्ने काम गरिरहेका छन् । त्यसैको ढाडसमा उर्जामन्त्रीले दिएको स्पष्टीकरणमा घिसिङले आफुलाई हटाएर देखाउन चुनौती समेत दिएका थिए ।
घिसिङ आफ्नो क्षेत्रमा कुशल व्यक्ति हुन्। तर, प्रश्न माओवादीले किन राजनीतिक औजार बनाइरहेको छ भन्ने हो । सरकारले कुनै निकायमा नियुक्ति दिएका अर्को व्यक्ति हटाउन खोज्दा पनि माओवादीले घिसिङको पक्षमाजस्तै उभिन सक्छन् ? मुल प्रश्न यो हो ।
प्रतिक्रिया