संकटालाई ३–० ले हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा

१४ माघ २०८० पोखरा । साविक विजेता संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगाशालामा आज भएको खेलमा संकटालाई ३-० गोलले हराउँदै आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले २ र जिलेस्पीजंग कार्कीले एक गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा कप्तान भरत खवासले दिएको क्रस पासमा जिलेस्पीले हेडर गोल गर्दे टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अग्रता लिएको आर्मीले दोस्रो हाफमा २ गोल गर्यो । ४९ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै दिनेशले आर्मीको अग्रता दोब्बर बनाए ।
दिनेशले नै ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै जित पक्का पारे । बाई पाएर क्वाटरफाइनल खेलेको संकटा पहिलो खेलमै हार्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया