मन्त्रीहरुले अपेक्षाअनुसार काम नगरेकोमा प्रधानमन्त्री असन्तुष्ट

४ पुस २०८० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ बैठक हलमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना मन्त्रीहरुसँग असन्तुष्ट बन्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले कार्यसमीक्षा गर्दै आशा अनुसारको काम नभएकोमा असन्तुष्टि राख्नुभएको हो ।
बैठकमा सरकार गठनको करिब एक वर्षको समीक्षा गर्दै कामलाई गतिदिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानून, कार्यविधिका समस्याबारे मुख्यसचिवले प्रस्तुती दिनुभएको थियो ।
यसमा प्रधानमन्त्री प्रचण्डले अब यही ताल नहुने भन्दै रोष प्रकट गर्नुभएको बताइएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कामको सामान्य समीक्षा भएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले कामलाई गतिदिन नसक्ने हटाउनेसम्मको चेतावनी दिनुभएको बताइएको छ । मन्त्रालयको रिपोर्ट कार्ड सन्तोषजनक नहुँदा सरकारप्रतिको विश्वास घटेको प्रधानमन्त्रीले बताएको बुझिएको छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्नका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेतासँगको संवाद पनि अघि बढाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया