एनएसएल फुटबलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्दै

१९ मंसिर २०८० काठमाडौं । नेपाल सुपर लिग, एनएसएल फुटबलमा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड एफसी भिड्दै छन् ।
प्रतियोगितामा आज अपराजित ललितपुर र पुछारको टोली वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुन लागेको हो । ललितपुर दोस्रो जितको लक्ष्यसहित मैदान ओर्लने छ ।
ललितपुरले यसअघि एक खेल जित्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ । ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराउँदा पोखरा थण्डर्स र धनगढी एफसीसँग बराबरी खेलेको थियो ।
ललितपुर तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ललितपुरलाई आज शीर्ष स्थानमा उक्लने मौका पनि छ ।
उता दुई खेलमा पराजित नवप्रवेशी वीरगञ्ज भने पहिलो जितको खोजीमा हुनेछ । वीरगञ्ज पहिलो खेलमा धनगढी एफसी र अर्को खेलमा एफसी चितवनसँग पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे शुरु हुनेछ । प्रतियोगिता हिमालय टेलिभिजन एचडी र हिमालय प्रिमियमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया