पाथीभरामा तीर्थयात्रीका लागि पर्याप्त छैन पानी (भिडियो रिपोर्टसहित)

४ मंसिर २०८० काठमाडौं । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीका लागि पर्याप्त पानी छैन । उसै त हिँडेर जान पनि मुस्किल हुने यो क्षेत्रमा तीर्थयात्री आफैले पानी बोकेर जानुपर्ने बाध्यता छ ।
वार्षिक ३ करोडभन्दा बढी भेटी संकलन हुने गरेको भएपनि पाथीभरा मन्दिर परिसरमा सरसफाइ छैन । शौचालय छ, तर पानी छैन । अभावै अभावका कारण तीर्थयात्री निकै कष्टकर ढंगले मन्दिर दर्शन गरेर फर्कनुपर्ने बाध्यता छ ।
ताप्लेजुङको फुङलिङ बजारबाट सानोफेदीसम्म पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ। त्यसपछि गाडीबाट ओर्लिएर करिब साढे ४ किलोमिटरको उकालो बाटो हिँडेपछि पाथीभरा मन्दिर पुगिन्छ । पैदलमार्गको ठाउँ–ठाउँमा तथा मन्दिर आसपासमा गरी दर्जनौ शौचालय निर्माण गरिएका छन् ।
दर्शनार्थीको सेवाकै लागि भनेर बाटोको आधा दर्जन भन्दा बढी स्थानमा पानीका धारा समेत बनाइएका छन् । तर ती धारामा अनि शौचालयमा पानी अभावका कारण दैनिक हजारौँ तिर्थयात्रीले समस्या भोग्दै आइरहेका छन् ।
दुर्गन्धित शौचालय प्रयोग गर्न सक्ने वातावरण नभएकाले खुला क्षेत्रमा शौच गर्न बाध्य छन् । सरसफाइका लागि कर्मचारी समेत भएपनि पानीको अभावका कारण शौचालय प्रयोगबिहीनजस्तै छ । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको मन्दिरमा विभिन्न प्रयासका बाबजुत ८ करोड २२ लाख रुपैँयाको लागतमा लिफ्टिङ प्रबिधिमार्फत पानी पुर्याउने गरी संरचना निर्माण भएका छन् ।
करिब २८ सय मिटरको उचाईमा रहेको काफ्लेपाटीबाट ४ किलोमिटर माथिको डाँडामा ठेकेदार कम्पनीले संरचना निर्माण गरी सफलतापुर्वक पानी पुर्याएका थिए । तर त्यसले निरन्तरता नपाउँदा समस्या उत्पन्न भएको हो । चट्याङका कारण बिद्युतीय उपकरणमा क्षति पुगेकाले मन्दिर परिसरमा पानीको हाहाकार छ ।
पानी पुर्याउनको लागि ४ किलोमिटर दुरीको विभिन्न स्थानमा ३० हजार लिटर क्षमताका ५ ओटा र ५० लिटर क्षमताका २ ओटा ट्याङकी निर्माण गरिएका छन् । एउटा ट्याङ्ककीबाट अर्को ट्याङकीमा पानी पुर्याउनका लागि १२ ओटा बिद्युतीय पम्पिङ उपकरण जडान गरिएको छ ।
प्रतिक्रिया