कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
माओवादी केन्द्रले कार्कीको पक्षमा मतदान गर्ने

२९ असोज २०८० काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधबार विश्वासको मत लिनुहुने भएको छ ।
कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई दिनुभएको छ । विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ।
प्रदेशसभा सचिवालयले आज सूचना जारी गरी कात्तिक १ गते बुधवार विहान ११ बजे बैठक बस्ने जनाएको छ । कार्की नेकपा एमालेका ३८ र कांग्रेसबाट विद्रोह गरेको ८ जना गरि ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
कार्कीले हिजो एमाले र कांग्रेसबाट एक एक जनालाई मन्त्री बनाउनु भएको छ । प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० सांसद छन्। कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी जसपाका एक सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६ सांसद छन् ।
यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा उपसभापति र महामन्त्रीसँग परामर्श गर्नुभएको छ ।
प्रतिक्रिया