२०८० एमालेको ‘अधिवेशन वर्ष’ : कहिले–कहिले हुँदैछ प्रदेश, जिल्ला, पालिका, वडा र टोल अधिवेशन ? (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० काठमाडौं । वैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई सङ्गठन सुदृढीकरण वर्षका रूपमा अघि बढाउने निर्णय गर्यो । यो वर्ष एमालेले प्रदेश, जिल्ला हुँदै वडा र टोल अधिवेशन गर्ने घोषणा गरेको छ ।
जसले पार्टी सुदृढिकरणमा टेवा पुग्ने विश्वास एमालेको छ । भदौमा प्रदेश अधिवेशनबाट सुरु भएको एमालेको संगठन सुदृढीकरण अभियान चैतमा टोल अधिवेशनमा पुगेर टुंगने छ । यसले पार्टी सुदृढीकरण हुने र २०८४ को निर्वाचनमा पहिलो हुने एमालेको दाउ छ ।
२०८० साल एमालेका लागि अधिवेशन वर्षका रुपमा रहने छ । किन कि एमालेले ०८० सालमा आफ्नो प्रदेशदेखि टोलसम्मको अधिवेशन गर्दैछ । शनिबार लुम्बिनी प्रदेशबाट सुरु भएको एमालेको प्रदेश अधिवेशन असोज २२ गते सुदूरपश्चिम प्रदेशमा भएर सकिने छ ।
भदौ १६–१७ : लुम्बिनी
असोज ५–६ : मधेश
असोज ८–९ : बागमती
असोज १०–११ : कर्णाली
असोज १२–१३ : कोशी
असोज १५–१६ : गण्डकी
असोज १९–२० : उपत्यका विशेष प्रदेश
असोज २१–२२ : सुदूरपश्चिम
प्रदेश अधिवेशन सकेपछि एमाले जिल्ला अधिवेशनमा केन्द्रित हुने छ । पुस र माघ महिनामा ७७ जिल्लामा जिल्ला अधिवेशन गर्ने एमालेको तयारी छ । यस्तै फागुनमा ७ सय ५३ वटै पालिकाको अधिवेशन र चैतमा वडा र टोल अधिवेशन गर्ने एमालेको तयारी छ ।
एमालेले २०७९ को निर्वाचन लगत्तै संगठानिक सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो । अभियान लगत्तै एमालेले पार्टीमा जिम्मेवारी हेरफेर गर्यो । सोही अभियानको सिकाइबाट एमालेले प्रदेशदेखि टोलसम्मको अधिवेशनमा केही नयाँ शर्तसमेत लागू गर्ने भएको छ ।
वडादेखि प्रतिनिधिसभासम्म जनप्रतिनिधि रहेकालाई एमालेले पार्टीको कुनै पनि तहमा कार्यकारी पद अर्थात् अध्यक्ष र सचिव निर्वाचित गराउने छैन । यसले पार्टी र सरकारको कार्यसम्पादनमा सहजता हुने एमालेको विश्वास छ ।
यी अधिवेशनबाट पार्टीमा नेता व्यवस्थापन हुने एमालेको विश्वास छ । जसको सकरात्मक प्रभाव २०८४ को निर्वाचन देखिने एमालेको दाबी छ । २०७९ को निर्वाचनमा दोस्रो स्थानमा चित्तबुझाएको एमाले २०८४ को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघ तीनै तहमा पहिलो हुने दाउमा छ ।
प्रतिक्रिया