थप चर्किँदै चीन–अमेरिका तनाव

१८ साउन २०७९ ताइपेई । अमेरिकी र चीनबीच तनाव थप चर्किएको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि अमेरिकी र चीनबीच तनाव थप चर्किएको छ । एशिया भ्रमणका क्रममा उनी ताइवान पुगेकी हुन् । पेलोसीले ताइवानको भ्रमण गरे त्यसको गम्भीर परिणाम निम्तिन सक्ने चीनको चेतावनीका बावजूद उनी त्यहाँ ओर्लिएकी हुन् । पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने बताइएको छ ।
पेलोसी ताइवान पुगेपछि बढ्दो तनावकाबीच अमेरिका र चीनले ताइवान जलसन्धिमा सैन्य गतिविधि र तयारी बढाएका छन् । आफ्नो चेतावनीलाई बेवास्ता गरिएपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ।
चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध शृंखला शुरू गर्ने घोषणा गरेको चीनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ। चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान वरिपरि संयुक्त सैन्य कारबाही गर्ने बताएको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच अघिल्लो साता दुई घण्टा लामो टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा चीनले पेलोसीलाई ताइवानको भ्रमण नगर्न चेतावनी दिएको थियो ।
पेलोसीले आफूले ताइवानको भ्रमण नगर्ने बताए पनि अन्ततः उनी ताइवान पुगिन् । सन् १९९७ यता उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो । पेलोसी अमेरिकी सरकारको तेस्रो वरियताकी अधिकारी हुन् ।
उता अमेरिकी राष्ट्रपति कार्यालयले पेलेसीको ताइवान भ्रमणको समर्थन नगरेको र ताइवान भ्रमण उनको व्यक्तिगत निर्णय भएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया