महाधिवेशनको तयारीमा रहेको एमाले स्थायी कमिटी बैठक आज बस्दै

७ मंसिर २०७८ काठमाडौं । दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।
१० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको एमालेको स्थायी कमिटी बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
हिजोका लागि तय भएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले विभिन्न क्षेत्रगतरुपमा १९ सय तीन जना प्रतिनिधि चयन गरिसकेको छ ।
आजको स्थायी कमिटी बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यका बारेमा छलफल गर्ने एजेण्डा रहेको तामाङले जानकारी दिनुभयो । निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार ९ सय ९९ जना प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
प्रतिक्रिया