Main News

अरुलाई होच्याउने र अपमान गर्ने प्रधानमन्त्री ओलीको संस्थागत प्रतिवाद, माफी माग्न बारको माग

हिमालय टिभी
२०७७ माघ ११ गते १८:४३
अरुलाई होच्याउने र अपमान गर्ने प्रधानमन्त्री ओलीको संस्थागत प्रतिवाद, माफी माग्न बारको माग

११ माघ २०७७ काठमाडौं । अरुलाई होच्याएर बोल्ने र अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संस्थागत रुपमै प्रतिवाद हुन थालेको छ ।

आफू र आफ्ना समर्थकबाहेक सबैलाई गलत देखेर खिसीट्यूरी गर्ने प्रधानमन्त्री ओलीको व्यवहारको विरोधसहित कानूनी उपचारको समेत खोजी भएको छ ।

नेपाल बार एशोसिएसनले कानून व्यवसायी र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ ।

बारले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानून व्यवसायीको अपमान भएको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेका सुनुवाइलाई लक्षित गरेर माघ नौ गते ओलीले वकिलले कुरा फिटेका फिट्यै छन् एक जना बाजे वकिललाई लिएर गएछन्, तमासा गर्न भनेर बोल्नुभएको थियो ।

बारले त्यसलाई अपमानजनक भन्दै आपत्ति जनाएको हो । बार एशोसिएसनले प्रधानमन्त्रीले अदालतकै मानहानी र अवहेलना गरेको भन्दै माफी माग्न भनेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई अमर्यादित, अपमानजनक र असहिष्णु भन्दै बारले आइन्दा यस्ता अभिव्यक्ति दोहोर्‍याए सशक्त विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षले पनि आपत्ति जनाएका छन् ।

उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानून व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको प्रतिक्रिया दिएका छन । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचनाको माग गर्नुभएको छ ।

अदालतको अवहेलनाजन्य कार्य गरेकोमा जवाफदेही बनाउन पनि अदालतको ध्यानाकर्षण गरिएको छ । प्रधानमन्त्री ओलीमा सत्ताको उन्माद देखिएको बारका पूर्व अध्यक्षहरुको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *