Main News

भारतले दिएको कोरोनाविरुद्धको खोप आज क्षेत्रीय मेडिकल स्टोरमा पठाइने

हिमालय टिभी
२०७७ माघ ११ गते ७:२३
भारतले दिएको कोरोनाविरुद्धको खोप आज क्षेत्रीय मेडिकल स्टोरमा पठाइने

११ माघ २०७७ काठमाडौं । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्ने भएको छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ ।

खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान शुरु गरिने मन्त्रालयले जनाएको छ । खोप लगाउन कसैलाई बाध्य भने पारिने छैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्नेछन् ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।

एक भायलमा १० डोज खोप हुन्छ । एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारण गृहमा राखिएको छ ।

महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *