Main News

चिसोले मुटु रोगीलाई समस्या, यस्तो छ चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते ७:०३
चिसोले मुटु रोगीलाई समस्या, यस्तो छ चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढ्दै गएपछि तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले मुटु रोगीलाई बढी समस्या हुने गरेको छ । बाँकेको भेरी अस्पतालमा दैनिक ३० देखि ३५ जना मुटुका बिरामी पुग्ने गरेका छन् ।

जाडो बढेसँगै नेपालगञ्जको भेरी अस्पतालमा मुटु र रक्तचापको समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । चिसोले रक्त नली खुम्चिने भएका कारण अस्पतालमा छाती दुख्ने, रक्तचाप बढेका र मुटु रोगसम्बन्धी समस्या भएका बिरामी बढ्दै गएका छन ।

जाडो मुटु स्वास्थ्यका लागि प्रतिकुल मानिन्छ । जाडोमा चिसोले गर्दा रगतका नली खुम्चिएर रक्त प्रवाहमा रोकावट भई हृदयाघात हुने जोखिम बढी हुन्छ । जाडो शुरु भएपछि भेरी अस्पताल नेपालगन्जको मुटुरोग विभागमा परीक्षणका लागि आउने बिरामीको संख्यमा १५ देखि २० प्रतिशतसम्म बढेको छ ।

उच्च रक्तचाप र मुटु रोगका बिरामीले जाडोमा अरु बेलाभन्दा बढी सावधानी अपनाउनुपर्छ । चिसो मौसममा मोर्निङ वाक नगर्न, बाक्लो कपडा लगाएर शरीर न्यानो राख्न, औषधि नियमित खान र असजिलो हुँदा साथ जाँच गराउन मुटुरोगका बिरामीलाई चिकित्सकको सुझाब छ ।

जुनसुकै रोगबाट बच्नका लागि खानपान र जीवनशैलीमा ध्यान दिनु पर्दछ । मुटु रोगीले झन विशेष ध्यान दिनुपर्नेमा चिकित्सकको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *