Main News

सिंहदरबारस्थित मुख्य प्रशासनिक भवनको प्रबलीकरण पूरा

हिमालय टिभी
२०७७ माघ ८ गते ७:३१
सिंहदरबारस्थित मुख्य प्रशासनिक भवनको प्रबलीकरण पूरा

८ माघ २०७७ काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको उत्तरी, पूर्वी र दक्षिणी भागको प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो ।

प्रबलीकरण सम्पन्न भएको भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ । पश्चिमी मोहडाको प्रबलीकरण भइरहेको छ ।

सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । विसं १९६० मा सिंहदरबार निर्माण गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख श्यामकिशोर सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवनमा पहिलो चरणको प्रबलीकरण सकिएको जानकारी दिनुभयो ।

माघ २० भित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । प्रबलीकरण भइरहेका भवनहरू भूकम्प प्रतिरोधी हुनेछन् । भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष निर्माण, क्याबिनेट हल, एक्सन रुम निर्माण, वार एक्सन रुम निर्माण, उद्घाटन तथा सम्बोधन कक्ष, स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ ।

सो क्षेत्रको हावा स्वतः शुद्धीकरण हुनेछ । मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवहरूका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । कुल एक अर्ब ५५ करोड रुपैयाँको लागतमा अहिले सिंहदरबारको प्रबलीकरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *