Main News

सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप, यस्तो छ खोप लगाउने तयारी

हिमालय टिभी
२०७७ माघ ८ गते ७:०८
सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप, यस्तो छ खोप लगाउने तयारी

८ माघ २०७७ काठमाडौं । कोभिड–१९ महामारीविरुद्धको बहुप्रतिक्षित खोप आज नेपाल आउँदैछ । छिमेकी मुलुक भारतले अनुदानमा दिने १० लाख डोज खोप आज काठमाडौं आइपुग्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल आउन लागेको हो । सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् ९ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकाले पहिलो चरणमा करिब चार लाख मानिसलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमको भनाइ छ ।

यो खोप एक जनालाई दुई डोज लगाउनु पर्ने भएकाले १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने भएको हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा नआउने अनुमान छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ ।

त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिने शर्माको भनाइ छ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न नसके पनि खोप झरेको १० देखि १५ दिनभित्र लगाउन शुरु गर्ने मन्त्रालयको तयारी छ ।

पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ । तर, स्वास्थ्यकर्मीलाई तालिम दिने तथा खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने गौतमको भनाइ छ ।

खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन सक्ने मन्त्रालयको बुझाइ छ । उनीहरूलाई तालिम दिन पनि शुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *