Main News

प्रदेश १ को हिउँदे अधिवेशन शुरु, पहिलो बैठक औपचारिकतामै सीमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ७ गते १८:४९
प्रदेश १ को हिउँदे अधिवेशन शुरु, पहिलो बैठक औपचारिकतामै सीमित (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन आज शुरु भएको छ । प्रदेशसभाको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ ।

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको पत्र पढेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभयो । बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित हुनु भएन ।

यसअघि नेकपाका दुवै समूहले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिमा कुनै पनि नेताले नबोल्ने सहमति भएको थियो । अधिवेशन शुरु गर्दा संसदीय दलका नेताले सम्बोधन गर्ने परम्परा यसपटक तोडिएको छ ।

नेकपाको ओली समूहले मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना बनाएको थियो । यस्तै प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै बोल्न नदिने रणनीति बनाएको थियो ।

प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने देखिएपछि बैठक शुरु गरेर तीन मिनेटमै स्थगित गरिएको हो ।

अब ओली समूहले प्रदेशसभामा कुनै बिजनेश नदिने र अविश्वासको प्रस्तावमाथि छलफल पनि गर्न नदिने रणनीति बनाएको छ ।

ओली समूहले निलम्बन गरेका भनिएका सांसद पनि बैठकमा सहभागी भएका छन् । प्रचण्ड–नेपाल समूहले प्रदेशसभा बैठक शुरु हुनुलाई सकारात्मक भन्दै अविश्वासको प्रस्तावमा छलफल हुने बताएको छ । लोकतान्त्रिक प्रक्रिया सबैले मान्नुपर्ने यो समूहको तर्क छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले पनि अबको एक हप्तामै अर्को बैठक बस्ने अपेक्षा गरेको छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर ओली समूहमा लागेका भनिएका सांसदमध्ये उदयपुरकी कला घले मात्रै बैठकमा उपस्थित हुनु भएको छ । जसमाया गजमेर, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी र सीतादेवी यादव भने बैठकमा आउनु भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *