Main News

प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदनमाथि आज पनि बहस हुने

हिमालय टिभी
२०७७ माघ ७ गते ९:२२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदनमाथि आज पनि बहस हुने

७ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामाथि बहस आज पनि हुँदैछ ।

हिजोका लागि तय भएको बहस हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाइ सारिएको हो । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट निवेदन बमोजिम हिजो संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभयो ।

संवैधानिक इजलासमा सुनुवाइ भएको हिजो तेस्रो दिन उहाँले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिस गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिनुभयो ।

रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता शेरबहादुर ढुंगानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको विघटन बदर गरी पुनर्स्थापना हुनुपर्ने माग गर्नुभयो ।

रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन् । यसैगरी, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्नुभयो ।

एउटै वकिलले ५ घण्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *