Main News

माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने आयोगको प्रस्ताव, प्रचण्ड–नेपाल समूहको असहमति

हिमालय टिभी
२०७७ माघ ४ गते १६:४८

४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ ।

चुनावी प्रक्रिया अघि बढाउँदै आयोगले दलहरुसँगको छलफलमा मतदाता नामावली प्रकाशनको प्रस्ताव गरेको हो । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तथा त्रुटि भए सच्याउन १६ र र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

यही बेला आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावलीसम्बन्धी प्रस्तावित कार्यक्रमबारे छलफल गरेको छ । केही दलको विरोध भएपनि आयोगले निर्वाचन प्रक्रिया रोक्न नमिल्ने बताएको छ ।

छलफलमा नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुनेमा जोड दिएको छ । छलफलपछि नेता राजेन्द्र पाण्डेले न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगका कर्मचारी सरकारले सरुवा गरेको विषय पनि उठाएको र यस्तो अवस्थामा आयोगले निष्पक्ष चुनाव गर्न नसक्ने मत राखेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफुहरु रहेको बताउनुभयो । निर्वाचन आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उहाँले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानका लागि नेपाली कांग्रेस तयार रहेको उहाँको भनाइ छ ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *