Main News

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउन अस्वीकार

हिमालय टिभी
२०७७ माघ २ गते १७:१८
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउन अस्वीकार

२ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ ।

मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गर्नुपर्ने माग संवैधानिक इजलासले अस्वीकार गरेको हो । यो मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसहित परेको निवेदन खारेज गर्दै सर्वोच्च अदालतले संवैधानिक इजलासमै निरन्तर सुनुवाइ गर्ने आदेश गरेको छ।

अब आइतबारदेखि संवैधानिक इजलासमा यो मुद्दाको निरन्तर सुनुवाइ हुनेछ। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।

रिट निवेदकले यो मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्रको नभएकाले बृहत् पूर्ण इजलासमा लैजान माग गरे पनि त्यो माग अस्वीकार भएको छ ।

बहसका क्रममा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानूनविपरीत रहेको तर्क गरेको थियो भने रिट निवेदक पक्षका कानून व्यवसायीले यो संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने भन्दै बृहत् इजलासको माग गरेका थिए ।

एमीकस क्यूरीका तर्फबाट संवैधानिक इजलासमा न्यायाधीश थप्न राय दिइएको थियो । तर संवैधानिक इजलासबाटै मुद्दा टुंगो लगाउने आदेश भएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन विचाराधीन छन्। प्रधानन्यायाधीश जबराले एकल इजलासर्फत पुस ८ गते तिनलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने गरी तोक्नुभएको थियो ।

त्यसपछि पुस १० गते सुनुवाइ गर्दै संवैधानिक इजलासले कारण देखाऊ आदेश दिएको थियो। तर, पुस २२ गते मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन माग गर्दै निवेदन परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *