Main News

जलपक्षीकाे संख्या वर्षेनी घट्दै: गणना गर्दा भेटियाे नयाँ हाँस (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १२:१५
जलपक्षीकाे संख्या वर्षेनी घट्दै: गणना गर्दा  भेटियाे नयाँ हाँस (भिडियोसहित)

२४ पुस, विराटनगर । नेपालमा पछिल्लो समय जलचरको संख्या ओरालो लाग्दै गएको छ । दुर्लभ मानिएका जलपक्षी पनि क्रमशः लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो ५ वर्षको गणना हेर्दा अवस्था निराशाजनक छ । यसपटक पनि गणकले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्ने प्रयास गरिरहेका छन् ।

प्रदेश १ र २ का सिमसार क्षेत्रमा अहिले जलपक्षीको गणना चलिरहेको छ । ६ जना विज्ञ गणकसहित २५ जनाको समुहले पुस १८ गतेदेखि गणना सुरु गरेको थियो । समुहले बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षको पुर्वी भाग, आरक्षको पश्चिम कमलपुर र सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालमा रहेका जलपक्षीको गणना सकाएको छ । हरेक वर्ष पुसमा हुने पक्षी गणनाको यो ३३ औं पटक हो । वनजङ्गल फँडानी र मानवीय चहलपहलमा वृद्धि, तथा बिषादीको अत्यधिक प्रयोग जस्ता कारणले पछिल्लो २ बर्षमा चराको ग्राफ घट्दै गएको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांकले नेपालमा दुर्लभ जलपक्षी घट्दै गएको देखाउँछ । कोशी टप्पु वन्यजन्तु आरक्षमा २०७५ को तुलनामा २०७६ मा चराको संख्या ६५ प्रतिशतले घटेको छ । यो बर्ष पनि घट्ने क्रम जारी रहेको आंकलन गरिएको छ । २०७६ सालमा गणकको समुहले प्रदेश १ र दुई मा ३१ बर्षपछि ठुलो ‘शिलशिले हाँस’ रेकर्ड गरेका थिए । यस्तै गत बर्ष ‘मण्डारिन हाँस’ पाइएको थियो । यसपटक बर्जुताल क्षेत्रमा ‘वैकाल्टिल हाँस’ भेटिएको छ । यो हाँस नेपालमै दुर्लभ पाइन्छ ।

प्रदेश १ का कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश २ का सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रमा प्रत्येक वर्ष पक्षी गणना गर्ने गरिएको छ । यसपटक गणनाको दायरा अलि फराकिलो बनाइएको छ । पछिल्लो समय ताल क्षेत्रमा मानिसको आवत जावत बाक्लिदै जाँदा चराको संख्या घट्न थालेको छ । कतिपय स्थानीय तहले चरा संरक्षणका लागि सीमसार क्षेत्रमा मानिसको आवतजावतमा रोक लगाउने तयारी गरेका छन् ।

नेपालमा प्रत्येक बर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी युरोप र पुर्वी एशियाका क्षेत्रबाट विभिन्न प्रजातिका चरा बसाँई सरेर आउने गर्दछन् । करिब ७ महिनापछि जेठ महिना सुरुवातसँगै उनीहरु उतै फर्किन्छन् । नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चरामध्ये कोशी टप्पु वन्यजन्तु आरक्षमा ५ सय २८ प्रजातिका चरा पाईन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *