Main News

सुदूरपश्चिमको धनगढीमा आज नेकपा ओली समूहको कार्यकर्ता प्रशिक्षण

हिमालय टिभी
२०७७ पुष २४ गते ७:३२
सुदूरपश्चिमको धनगढीमा आज नेकपा ओली समूहको कार्यकर्ता प्रशिक्षण

२४ पुस २०७७ काठमाडौं । प्रधानमन्त्रीको उपस्थितिमा नेकपाको ओली समूहले आज सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलोपटक उपत्यका बाहिर सार्वजनिक सभालाई सम्बोधन गर्न लाग्नु भएको हो ।

ओली समूहले आफ्नो समूहको शक्ति प्रदर्शनको तयारीका लागि संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी पठाएको छ । आज प्रधानमन्त्री ओलीसहित केही अन्य मन्त्री र नेताहरुसमेत धनगढी जाने कार्यक्रम छ।

ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना कार्यकर्तालाई आफूतिर तान्न र शक्ति प्रदर्शनको तीव्र तयारीमा जुटेका छन्।

प्रतिनिधिसभा विघटनपछि नेकपा औपचारिक रूपमै विभाजनको संघारमा पुगेका बेला ओली समूहले सुदूरपश्चिममा ध्यान केन्द्रित गरेको हो ।

सुदूरपश्चिममा ओली समूह अल्पमतमा छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपाबाट निर्वाचित ३९ जना सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल समूहमा छन् भने ७ जना मात्रै खुलेर ओली समूहमा लागेका छन्।

केही दिन अगाडि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठान सिहं बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि ओली समूहका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजीनामा दिनु भएको थियो । बोहरा पनि बाहिरिए पछि प्रदेश सरकारमा मुख्यमन्त्री भट्टसहित प्रचण्ड–नेपाल समूहका पाँच जना मन्त्री छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *