Main News

प्रतिनिधिसभा विघटन भएसँगै कुनकुन ३८ वटा विधेयक निष्क्रिय बने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते १६:२१
प्रतिनिधिसभा विघटन भएसँगै कुनकुन ३८ वटा विधेयक निष्क्रिय बने ? (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधि सभाले सन्देशसहित राष्ट्रिय सभामा पठाएको एक विधेयकसहित ३८ विधेयक निस्क्रिय बनेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन् ।

विधेयक निस्क्रिय भएसँगै प्रतिनिधिसभाको मेहनत त खेर गएको छ नै, आगामी दिनमा यि विधेयकहरुलाई पुनः शुरुवातकै विन्दुबाट शुरु गर्नुपर्ने हुन्छ भने कानून बन्ने कुरामा पनि ढिलो हुने निश्चित भएको छ ।

प्रतिनिधि सभामा दर्ता भई वितरण भएका ५ वटा गैरसरकारीसहित १२ वटा विधेयक, सभामा प्रस्तुत मात्रै भएका ४ वटा विधेयक, राष्ट्रिय सभाबाट सन्देश पठाएर प्रतिनिधि सभामा टेबुल भएका ४ विधेयक, राष्ट्रिय सभाको सन्देशमाथि विचार गर्न बाँकी २ वटा विधेयक, प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधिन १० वटा विधेयक, प्रतिनिधि सभाका समितिका प्रतिवेदन हाउसमा पेश भएका ५ वटा विधेयक गरी जम्मा ३७ वटा विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा रहेका थिए ।

त्यस्तै प्रतिनिधि सभाले सन्देशसहित राष्ट्रियसभामा एउटा विधेयक पठाएको थियो । यससँगै ३८ विधेयक निस्क्रिय हुने अवस्थामा पुगेको हो । यि विधेयकहरु कानूनी प्रावधान एवं संवैधानिक व्यवस्था अनुसार निस्क्रिय हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

निस्क्रिय हुने विधेयकहरुमा संघीय निजामती सेवा विधेयक २०७५, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५, लोकसेवा आयोग विधेयक २०७५, सूचना प्रविधि सम्बन्धी विधेयक २०७५, राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७५ लगायतका महत्वपूर्ण विधेयकहरु रहेका छन् ।

यि विधेयकहरु पास हुन ढिलाई हुँदा आवश्यक कानून बन्नसमेत ढिलो हुने देखिएको छ । यता, राष्ट्रिय सभातर्फ भने १८ वटा विधेयक कायम रहेका छन् । ८ वटा विधेयक सभामा विचाराधिन अवस्थामा रहेका छन् भने १० वटा विधेयक समितिमा विचाराधिन अवस्थामा रहेका छन् ।

यि विधेयकहरुलाई सबै प्रक्रिया पूरा गरी अघि बढाउन सकिने भए पनि प्रतिनिधि सभा नभएको अवस्थामा कानून बन्ने प्रक्रिया रोकिन्छ । विधेयकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै प्रक्रिया पुरा गरेपछि मात्र कानूनको रुप पाउछ । भर्खर शुरु भएको अधिवेशनमा राष्ट्रिय सभा मात्र चल्ने भएकाले र विधेयकमाथिको छलफल भए पनि सरकारले राष्ट्रिय सभालाई बिजनेस दिए मात्रै सभा क्रियाशील हुने र सरकारले विजनेस नल्याए यि विधेयकहरुको प्रक्रिया सकिएपछि सभाले बिजनेस पाउने अवस्था नरहने प्रवक्ता धमलाको भनाइ छ ।

यसरी निकै रकम, समय र स्रोत साधन खर्चेर तयार गरी छलफल गरिएका र पास गर्ने दिशामा अघि बढेका विधेयकहरु निस्क्रिय हुँदा यसको व्ययभार राज्यलाई निकै पर्नेछ । आगामी दिनमा पुनः शुरुवातको विन्दुबाट विधेयकको प्रक्रिया अघि बढ्ने हुँदा उत्तिनै खर्च र समय लाग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *