Main News

निर्मला हत्या प्रकरणमा बर्खास्त गरिएका एसपी विष्टलाई सेवामा फर्काउने निर्णय

हिमालय टिभी
२०७७ पुष १६ गते ७:३८
निर्मला हत्या प्रकरणमा बर्खास्त गरिएका एसपी विष्टलाई सेवामा फर्काउने निर्णय

१६ पुस २०७७ काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई २०७५ कात्तिक ८ गते बर्खास्त गरिएको थियो ।

यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् । २०७५ साउन ११ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो । प्रहरी अधिकृतहरुविरुद्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा समेत परेको थियो ।

तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेको थियो । त्यसपछि कारबाहीमा परेका अधिकृतहरुलाई पुनर्बहाली गर्न थालिएको छ । प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *