Main News

फेरि धोका दिए सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने उखु किसानको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १८:०२
फेरि धोका दिए सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने उखु किसानको चेतावनी (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । चार बुँदे सहमति भएपछि दुई हप्तादेखि आन्दोलनरत उखु किसानले २१ दिनका लागि आन्दोलन स्थगित गरेका छन् । तर सरकारले २१ दिनभित्र भुक्तानी नगराए र यसपालि पनि पहिलेझैं धोका दिए सशक्त आन्दोलन थाल्ने किसानले चेतावनी दिएका छन् ।

सरकार र किसानबीच सोमबार २१ दिनभित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भयो । २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानले बताएका छन् । तर यो अवधिभित्र सबै भुक्तानी नपाए फेरी काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानको चेतावनी छ ।

किसानले उद्योगीबाट ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । तर उद्योगीले ६५ करोड वक्यौता रहेको विवरण सरकारलाई बुझाएका छन् । सहमति बमोजिम २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी दिलाइदिने सरकारको योजना छ ।

बाँकी २५ करोडबारे एक समिति बनाएर छानबिन हुने बताइएको छ । छानबिनको रिपोर्ट आएपछि सरकारले नै बाँकी रकम भुक्तानी गराइदिने जिम्मेवारी लिएपछि किसान आन्दोलन स्थगन गर्न तयार भएका हुन् ।

सरकारले तोकेको मूल्यभन्दा ३६ रुपैयाँ कम निर्धारण गरी भुक्तानी गर्ने उद्योगीलाई कारबाही गरिनुपर्ने र ब्याजसहित रकम उठाइदिनुपर्ने किसानको माग छ ।

सरकारले उद्योगीको पासपोर्ट जफत गरेको, बैंक खाता र जग्गा रोक्कासँगै पक्राउको आदेशसमेत दिएको छ । सरकारले २१ दिनभित्रमा जसरी पनि रकम दिलाउने आश्वासन दिएको छ । यसले रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही हुन्छ भन्ने विश्वास किसानमा जागेको छ ।

गत वर्ष पनि किसानले यसैगरी काठमाडौं आएर आन्दोलन गरेका थिए । आन्दोलनपछि सरकारले एक महिना भित्रमा भुक्तानी दिलाउने सम्झौता गरेर घर फर्काएको थियो ।

तर सम्झौताको एक वर्षसम्म पनि रकम नपाएपछि किसान मंसिर २८ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । यसपटक पनि उधारो सम्झौता गरेर किसानलाई घर पठाएको सरकार अब कत्तिको गम्भीरतापूर्वक लाग्छ हेर्न बाँकी छ ।

बक्यौता नपाउँदै आन्दोनलका लागि काठमाडौं आएका एक उखु किसानको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *