राजनीति

प्रदेश ५ सभामा भाँडभैलो, कांग्रेसका सांसदले यसरी फोडे कुर्सी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:३३
प्रदेश ५ सभामा भाँडभैलो, कांग्रेसका सांसदले यसरी फोडे कुर्सी (भिडियोसहित)

१९ असोज, २०७७, बुटवल । दाङ राजधानी बनाउने प्रस्तावलाई लिएर प्रदेश ५ को सभामा भाँडभैलो भएको छ । विवाद, विरोध र तोडफोडका बीच सभामा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा छलफल भएको छ । यसमा नेकपाकै सांसदले समेत असन्तुष्टि व्यक्त गरेका छन् भने नेपाली कांग्रेसका सांसद तोडफोडमै उत्रिएको छ ।

शुक्रबार सरकारले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव ल्याएपछि बुटवलमा चर्को असन्तुष्टि छ । सत्तारुढ नेकपाकै केही सांसदको यसको विरोधमा छन् भने कांग्रेसले छलफलनै नगरी प्रस्ताव ल्याएको भन्दै विरोध गरिरहेको छ ।

सर्वसाधारण प्रदर्शनमै उत्रिएका छन् । परिणाम निषेधाज्ञा लगाइएको छ भने सोमबार प्रदेशसभा बैठक शुरु हुनुअघि आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुले पनि अवस्थालाई चित्रित गर्छ ।

तर सडकमा मात्र हैन, सदनभित्र पनि यो विषयमा होहल्ला र तोडफोड भयो । पहिलो बैठक कांग्रेसले अवरुद्ध गर्यो । उसको माग छ, छलफल नै नगरी ल्याईको प्रस्ताव फिर्ता हुनु पर्यो ।

पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको थियो । तर दोस्रो बैठक सभामुख पूर्णबहादुर घर्तिले जबर्जस्ती चलाएपछि कांग्रेस सांसद तोडफोडमा उत्रिए । उनीहरुले माइक, कुर्सी र टेबुल तोडफोड गरे ।

कांग्रेस सांसदले नाराबाजी र तोडफोड कायमै राखे पनि सभामुख घर्तिले प्रदेशको राजधानी र नामका प्रस्तावमा छलफल अघि बढाउनुभयो । र, बोल्न सांसदहरुलाई पाँच मिनेट समय दिनुभयो ।

यस्तो लाग्थ्यो सभामुख जति सक्दो छिटो छलफल सक्न चाहनुहुन्थ्यो । तर यसको सत्तारुढ नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठले विरोध गर्नुभयो । केही समय सांसद श्रेष्ठ र सभामुखबीच दोहोरी पनि चल्यो । सांसद श्रेष्ठले बुटवललाई राजधानी नबनाएकोमा कडा आपत्ति पनि जनाउनुभयो ।

श्रेष्ठसँगै नेकपाका अर्का असन्तुष्ट सांसद विष्णु पन्थीले पनि दाङ राजधानी बनाउने प्रस्तावको विरोध गर्नुभयो । श्रेष्ठले त पछिसम्म हात उठाएर विरोध गरिरहनुभयो । एकातिर कांग्रेस सांसदले तोडफोड गर्ने र अर्कोतिर सभामुखले सरकारी प्रस्तावमाथिको छलफल अघि बढाउने काम भैरह्यो ।

८७ सदस्यीय प्रदेश सभामा सात जनाले मात्रै बोले । त्यसपछि सभामुखले जवाफ दिन आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिनुभयो । कांग्रेसको विरोधकै बीच बोल्न आएका मन्त्री केसीलाई केसी समय सकस भयो । कांग्रेससँगै नेकपाकै केही सांसदले उठेर आपत्ति जनाउँदै समय मागे । तर उनीहरुको सुनुवाई भएन । कांग्रेसको तोडफोडबाट मन्त्री केसी पनि उत्तेजित हुनुभयो ।

विरोधका र तोडफोडकाबीच नाम र राजधानीको छलफल सकियो । र सभामुखले संशोधन हाल्न १८ घण्टाको समय दिएर बैठक मंगलबारसम्मका लागि स्थगित गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *