राप्रपाको चुनाव चिन्ह हलोमा सैद्धान्तिक सहमति

६ असोज, २०७७ काठमाडौं । ६ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।
एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।
कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो ।
एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर आज नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताउनुभएको छ । थापाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताउनुभएको थियो ।
आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गर्नुभएको छ ।
प्रतिक्रिया