धानमा डढुवा र गवारोको प्रकोप, मोरङका किसान उत्पादन घट्ने चिन्तामा (भिडियोसहित)

२६ भदौ, २०७७, मोरङ । मोरङका अधिकांश क्षेत्रमा लगाइएका धानमा यतिबेला डढुवा र गवारो रोगको प्रकोप देखा परेको छ । यसअघि मरुवा रोगको प्रकोपका कारण चैते धानमा नोक्सानी व्यहोरेका मोरङका किसानले हिउँदे धानमा समेत समस्या झेल्नु परेको छ ।
रोपाईंका बेला मलको अभाव भोगेका मोरङका किसान अहिले धानमा रोगको प्रकोप बढेपछि चिन्तित छन् । डढुवा र गवारोले हुर्कँदै गरेको रोपो धमाधम मर्न थालेपछि किसानलाई चिन्ता थपिएको छ ।
मोरङमा यसअघि चैते धानको सिजनमा ढुसिजन्य मरुवा रोगको प्रकोप देखा परेकोमा अहिले डढुवा सँगसँगै गवारो रोगको पनि प्रकोप बढेपछि मोरङका किसान हैरान छन् । किराको लागि भनेर हालेको विषादीले काम नगरेर किसानले अर्को नोक्सानी व्यहोर्नु परेको छ ।
मरुवा रोगका कारण चैतै धानमा किसानले सोचे जति उत्पादन लिन सकेका थिएनन् । अहिले फेरी डढुवा र गवारोले बर्खे धान मरेपछि उत्पादन घट्ने हो कि भन्ने चिन्ता छ ।
डढुवा र गवारो रोग सरुवा रोग भएकाले रोग लागेका धान खेतको छेउछाउका खेतीमा समयमै विषादीको प्रयोग गर्न विज्ञको सुझाव छ । विषादी प्रयोग गर्दा प्राविधिकसँगको सल्लाह अनिवार्य छ ।
मोरङको रतुवामाइ नगरपालिकामा गवारो र डढुवाले अत्यधिक क्षति गरेको कृषि अधिकारिले जनाएका छन् ।
प्रतिक्रिया