व्यवसाय ठप्प भएपछि ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा

१४ भदौ, २०७७ काठमाडौं । कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । जसका कारण घरभाडा तिर्नसमेत समस्या भएकाले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले चैतयता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको बताउनुभयो ।
अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको बताउनुभयो ।
काठमाडौंका अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । ठमेल पूर्ण रुपमा पर्यटकमा निर्भर क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएकाले पर्यटक आउने अवस्था पनि छैन् ।
ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायी छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्क छ ।
ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसाय छन् ।
प्रतिक्रिया