सुनको भाउ १ हजार ३ सय बढेर फेरि कीर्तिमान, तोलाको ९५ हजार ८ सयमा कारोबार

९ साउन, २०७७ काठमाडौं । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेर फेरि नयाँ कीर्तिमानमा पुगेको छ ।
आज एकै दिन तोलामा १ हजार ३ सयले वृद्धि हुँदै सुन तोलाको ९५ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि हिजो सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
पछिल्ला दिनमा सुनको भाउ दैनिक रुपमा नै बढेर उच्च बिन्दुमा पुग्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १८ सय ८५ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ताहरु सुनप्रति आकर्षत भएका छन् ।
जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया