सहकारीको करिब ४३ करोड हिनामिना गरेर फरार चौधरी पक्राउ

२७ असार, २०७७ बाँके । बाँके प्रहरीले बचतकर्ताको करिब ४३ करोड रुपैंया हिनामिना भएको मुद्दामा छानबिनका लागि सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष हरदेव बक्स चौधरीलाई पक्राउ गरेको छ ।
फरार रहेका अध्यक्ष चौधरीलाई प्रहरीले नेपालगन्जको जमुनाहाबाट पक्राउ गरेको हो । सहकारी घोटालामा ४१ जनाको संलग्नता देखिएको छ । त्यसमध्ये अध्यक्ष चौधरीसहित ८ जना फरार थिए । ७ जना अझै फरार छन् ।
अभियुक्तमध्ये २८ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेको आदेशबाट ठगी तथा संगठित अपराध गरेको अभियोगमा ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२०७६ जेठमा घोटाला भएको तथ्य सार्वजनिक भएपछि सहकारी बन्द छ । बचतकर्ताले आफूले जम्मा गरेको रकमसमेत फिर्ता पाउन सकेका छैनन । उनीहरुले रकम फिर्ता माग गर्दै नेपालगन्जमा प्रदर्शन गर्दै आएका छन् ।
एक बर्षदेखि निरन्तर दवाब दिँदा पनि सहकारीले करिब १० हजार जना बचतकर्ताको रकम फिर्ता गरेको छैन ।
नेपालगन्जको यो सहकारीका संचालक, कर्मचारी र लेखा परीक्षकसहित ४१ जनाको मिलेमतोमा नक्कली कागजपत्र बनाएर १० बर्षदेखि साधारण बचतकर्ताको रकम अपचलन र ठगी गर्दै आएको पाइएको थियो ।
प्रतिक्रिया