विदेशमा अलपत्र नेपालीलाई निःशुल्क फर्काउन कार्यविधि बनाउँदै सरकार

६ असार, २०७७ काठमाडौं । सरकारले रोजगारीका क्रममा खर्चको अभावले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई निशुल्क स्वदेश फर्काउने कार्यविधि बनाउने तयारी गरेको छ ।
श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताउनुभयो ।
सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधि नपुगी फर्किन बाध्य भएका, गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न सक्ने अवस्थामा रहेका व्यक्तिमध्येबाट पनि पैसाकै अभावले स्वदेश फर्किन नसक्नेलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फर्काउन आदेश दिएको थियो ।
अहिले सरकारले विदेशमा अलपत्र परेका श्रमिकलाई हवाई भाडा तिराएर चार्टर्ड उडानमार्फत स्वदेश फर्काउने काम गरिरहेको छ ।
त्यसका लागि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले अबको एक साताभित्र कार्यविधि ल्याउनेगरी काम भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया