सीमा विवादबारे भारत लच्कियो, कोरोनापछि द्विपक्षीय वार्ताका लागि तयार

३० जेठ, २०७७ काठमाडौं । भारतले पुनः कोरोनापछि दुईपक्षीय वार्ताबाट नेपालसँगको सीमा विवादको निकास निकाल्ने जनाएको छ।
यसअघि पनि भारतले कोरोनापछि अन्तर्राष्ट्रिय उडान खुलेपछि दुईपक्षीय वार्ता गर्ने बताउँदै आएको थियो। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उसले पुरानै धारणा दोहोर्याएको हो।
सीमाको विषयलाई लिएर भारत–नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने पत्रकारको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने बताए ।
भारतले नेपालसँग सभ्यता, संस्कृति र आत्मीय सम्बन्धलाई अत्यन्त महत्व दिएको भन्दै श्रीवास्तवले केही समययता बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन भइरहेको र त्यसको क्रम बढ्दो मात्र होइन, विविधीकरण उन्मुख रहेको बताए ।
नेपाललाई भारतले विकास र अन्य सहायता वृद्धि गर्दै लगेको उल्लेख गर्दै छिमेकमा आएको समस्या समाधान गरेरै अघि बढ्ने श्रीवास्तवको भनाइ थियो ।
प्रतिक्रिया