सांसद गंगा चौधरी सत्गौंवाको अभिव्यक्तिमाथि छानबिन भइरहेको सभामुखको रुलिङ

२५ जेठ, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टीका सांसद गंगा चौधरी सत्गौंवाको अभिव्यक्तिका विषयमा छानबिन भैरहेको जानकारी गराउँदै यसबारे थप टिकाटिप्पणी नगर्न रुलिङ् गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पनि राजपा सांसद चन्दा चौधरीले जेठ १९ गतेको बैठकमा नेकपा गंगा चौधरी सत्गौंवाले बोलेको विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले त्यस विषयमा सदनमा कुनै टिकाटीप्पणी नगर्न रुलिङ् गर्नुभएको हो ।
सभामुख सापकोटाका अनुसार यो विषयमा छानबिन भैरहेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आवश्यक कदम चालिनेछ ।
जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले बोलेको कुरालाई लिएर जेठ १९ गतेको संसद बैठकमा नेकपा सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्नुभएको थियो । जुन विषयमा केही दिनयता संसदमा आरोप प्रत्यारोप चल्दै आएको छ ।
प्रतिक्रिया