संसद गतिरोध अन्त्य, संसद सञ्चालनका लागि सुझाव दिन सात सदस्यीय समिति गठन

काठमाडौं । संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान, नियम र स्थापित परम्पराअनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गरिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा आज बसेको सर्वदलीय बैठकले सार्थक वार्ता तथा संवादमार्फत् संसदको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउन नेकपाका नेता सुवास नेम्वाङको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समिति सदस्यहरुमा नेकपाका देव गुरूङ र बिन्दा पाण्डे, कांग्रेसका पुष्पा भुसाल गौतम र मिनेन्द्र रिजाल, राजपाका लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरिया हुनुहुन्छ ।
नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा एक बालकको मृत्युको विरोध गरिरहेका स्थानीयमाथि प्रहरी दमनका क्रममा स्थानीय सरोजनारायण सिंहको मृत्यु सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आइरहेका थिए ।
साउन ८ गते जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भए पनि कांग्रेस र राजपाको अवरोधका कारण संसदको बैठक असार २४ गतेदेखि अवरुद्ध हुँदै आएको थियो ।
प्रतिक्रिया