दुई अध्यक्षबीचको सहमतिपछि पनि नेकपाभित्र असन्तुष्टि आउने क्रम जारी

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हालै राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि नेकपाभित्र नेताहरुका असन्तुष्टि आउनेक्रम रोकिएको छैन् ।
सरकारकै एक जना उपप्रधानमन्त्रीले त आज देशमा राजनीतिक स्थिरता मच्चाउने कतिपयलाई छटपटी भैरहेको भनेर पार्टीभित्रकै नेतामाथि निशाना लगाउनु भएको छ ।
कसैको नामै नलिई आज काठमाडौंमा भएको कार्यक्रममा सत्तारुढ नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले दुई अध्यक्षबीच भएको सत्ता साझेदारी सहमतिको कुरा उठाउनेमाथि हमला गर्नुभयो ।
नेता पोखरेलको निशाना प्रचण्डतर्फ लक्षित थियो । नेपालमा राजनीतिक स्थिरता हुन नदिन विदेशी पनि लागेको नेता पोखरेलको दावी छ ।
यसैसाता प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले देशमा राजनीतिक अस्थिरता ल्याउन ‘छौंडा’हरुले चलखेल गरेको ट्वीट गर्नुभएको थियो । त्यस अगाडि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले देशी विदेशी शक्तिकेन्द्रले देशको व्यवस्था उल्टाउने कसरत थालेको बताउनुभएको थियो ।
यसैको श्रृंखलामा आज उपप्रधानमन्त्रीको अभिव्यक्ति आएको छ । यी घटनाक्रमले सरकारमाथि केही दवाव सिर्जना भएको छ भन्ने संकेत दिएको छ ।
प्रतिक्रिया