Breaking News

५६ वर्षअघि नेपाल कम्यूनिष्ट पार्टी फुटनुकाे कारण यस्तो थियो

काठमाडौँ, ४ जेठ । १० वैशाख ००६ अर्थात् २२ अप्रिल १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा स्थापना नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, शम्भुराम श्रेष्ठ र मोतीदेवी श्रेष्ठ संस्थापक थिए । कतिपयले मोतीदेवीलाई संस्थापक मानेका छैनन् । २००६ देखि २०१९ सम्म १३ वर्ष पार्टी केही आन्तरिक विवादबीच एकै धारमा अगाडि बढ्यो ।

अनि, ०१९ मा फुट्यो
गठन भएको दुई वर्षपछि अर्थात् ००८ देखि नेकपामा गुटबन्दी सुरु भयो । त्यसबीचमा पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र दोस्रोबाट महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भए । ९ माघ ००८ मा जनता दलका नेता डा. केआई सिंहले गरेको सत्ता कब्जाको कदमलाई समर्थन गरेपछि १० माघमै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो ।

तर, नेकपाका महामन्त्री मनमोहन अधिकारीका नाममा संवैधानिक राजतन्त्र स्वीकार गरिएको विज्ञप्ति जारी भएपछि ४ वैशाख ०१३ मा प्रतिबन्ध हटेको प्रा. डा. सुरेन्द्र केसीले पुस्तक ‘नेपाल कम्युनिस्ट पार्टीको इतिहास’मा लेखेका छन् ।

यसपछि नेकपामा दुई लाइन संघर्ष चर्कियो । तर, पार्टी विभाजनकै स्थितिमा भने पुगेको थिएन । १ पुस ०१७ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि तत्कालीन महासचिव केशरजंग रायमाझीले शाही कदमको समर्थन गरे । त्यतिवेला उनी मस्कोमा थिए ।

रायमाझीको यही निर्णय नै पार्टी फुटको कारण बन्यो । ०१८ मा भारतको दरभंगामा बसेको पार्टी विस्तारित बैठकमा रायमाझीले संसदीय प्रणाली पुनस्र्थापना हुनुपर्ने प्रस्ताव गरे । उनको पक्षमा पार्टीभित्र रहेको १७ मत थियो जुन अल्पमत थियो । संविधानसभाको निर्वाचनमा जानुपर्छ भन्ने प्रस्तावको पक्षमा बहुमत थियो । तर, यो पनि कार्यान्वयन भएन ।

विवादबीच ४–१५ वैशाख ०१९ मा भएको तेस्रो महाधिवेशनले महासचिव रायमाझीलाई पार्टीबाट हटायो । तर, उनले आफ्नो समूह पुनर्गठित गरे । तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव निर्वाचित भए, तर संस्थापक पुष्पलालबीच मतभेद चुलिएर पार्टी फुट्यो । पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर आफ्नो समूहको अलग्गै सम्मेलनमार्फत नयाँ केन्द्रीय समिति बनाए ।

पार्टी फुटेपछि नेताका आ–आफ्ना समूह
पार्टी फुटेपछि पूर्व कोसीप्रान्तीय कमिटी नामको अर्को समूह पनि उदायो । त्यतिवेला रायमाझी र अमात्य समूह रुसमा लेनिनले गरेको क्रान्तिको पक्षधर थियो । तर, पुष्पलाल समूह चिनियाँ क्रान्तिको पक्षधर थियो । कोसीप्रान्तीय कमिटीलगायत समूह चिनियाँ क्रान्तिको पक्षधर थिए । त्यसपछि श्रेष्ठ, अमात्य र रायमाझी समूहभित्रै अनेकौँ फुट पैदा भए ।

समूहहरू यसरी फुट्दै र जुट्दै आए
पुष्पलाल समूहबाट अलग्गिएका मदन भण्डारी, जीवराज आश्रितलगायत नेता, झापा समूहका सिपी मैनाली, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल मिलेर कोअर्डिनेसन कमिटी हुँदै नेकपा माले गठन गरे । पुष्पलाल समूहबाट अलग भएका र सो समूहमा निरन्तर रहेका क्रमशः नेकपा माले र माक्र्सबादीबीच ०४८ मा पार्टी एकीकरण भएर नेकपा एमाले गठन भयो ।

०५४ मा फुटेर माले गठन गरेका वामदेवलगायत नेता पुनः एमालेमै फर्किए । तर, सिपी मैनालीले अहिले पनि मालेको अस्तित्व बचाइरहेका छन् । एमालेको अस्तित्व भने बिहीबार नेकपा स्थापनासँगै समाप्त भएको छ ।

रायमाझी समूहमा लागेका नेताहरू विभिन्न गुट, उपगुटमा विभाजन हुँदै कृष्णराज बर्मा र विष्णुबहादुर मानन्धर समूहको अस्तित्वमा थिए । मानन्धर समूहको बिरासतका रूपमा रहेको नेकपा संयुक्त गत निर्वाचनअघि माओवादी केन्द्रमा विलय भयो ।

बर्मा विगतमा एमाले प्रवेश गरेका थिए भने अहिले स्वतन्त्र छन् । रायमाझी समूहमा त्यतिवेला रहेका हृदयेश त्रिपाठी मधेसको क्षेत्रीय राजनीतिमा लामो समय सक्रिय रहे । पछिल्लोपटक तमलोपामा रहेका उनले पार्टी त्यागेपछि एमालेको निर्वाचन चिह्नबाट चुनाव जितेर अहिले प्रतिनिधिसमामा निर्वाचित भएका छन् । तर, उनले औपचारिक रूपमा कम्युनिस्ट पार्टी प्रवेश गरेका छैनन् ।

तुलसीलाल अमात्यले नेतृत्व गरेको अमात्य समूह, मानन्धर समूह र बर्मा समूह मिलेर नेकपा संयुक्त गठन भयो । बर्मा र अमात्य अलग–अलग एमालेमा प्रवेश गरे । बर्मा अहिले स्वतन्त्र छन् । यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

shares