Breaking News

सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध प्रेस जगत् र कांग्रेस मिलेर लड्नुपर्छ: निधि

ललितपुर, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार एकदलीय अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले बुधबार ललितपुरको शंखमूलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कांग्रेस उपसभापति निधिले सरकार दुईतिहाईको दम्भमा अधिनायकवादी प्रवृतिबाट प्रस्तुत भइरहेको बताएका हुन् । सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध प्रेस जगत् र कांग्रेस मिलेर लड्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अनशनरत डाक्टर गोविन्द केसी, माथेमा आयोगले तयार पारेको प्रतिवेदन र अन्य पक्षको सहमतिमा सबैको भावना समेटिने गरी अध्यादेश ल्याएको दाबी गर्दै सरकारले उक्त अध्यादेश हुबहु कार्यान्वयन गर्नुको विकल्प नभएको जिकिर गरे । देउवा सरकारले ल्याएको सबै पक्षले स्वीकार गरेको अध्यादेशलाई तोडमरोड गर्नु कम्युनिष्ट सरकारको दूराशय भएको उनको भनाइ छ ।

कांग्रेस उपसभापति निधिले पार्टीभित्रका अन्तरिक प्रतिष्पर्धालाई थाँती राखेर लोकतन्त्रको पक्षमा र अधिनायकवादी सोच विरुद्ध एकअर्काको पूरक भएर खेल्नुपर्ने भूमिकालाई प्राथमिकता दिन पनि नेताहरूलाई आग्रह गरे ।

shares