Breaking News

सन्तानेश्वर महादेव मन्दिरमा भक्तजनको भीड

ललितपुर, ७ साउन । ललितपुरको गोदावरी नगरपालिका– १३ झररुवासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनामा भक्तजनको भीड लागेको छ ।

ललितपुरको लगनखेलबाट पूर्वी दक्षिणी भेगमा राजधानी नजिकै पर्ने सो मन्दिरमा पूजाराधनाका लागि सोमबार ब्रतालु भक्तजनको भीड लाग्ने गरेको छ । विशेष गरेर साउनको हरेक सोमबार अझ बढी भक्तजनको उल्लेखनीय सहभागिता हुने गर्छ । सन्तानेश्वर महादेवलाई दोश्रो पशुपतिनाथका रूपमा पनि हेरिन्छ । सतीदेवीको ओठ पतन भएकाले सो क्षेत्रमा सन्तानेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ ।

समुद्री सतहबाट एक हजार ५ सय ७ मिको उचाइमा अवस्थित सो मन्दिर नौ किमी दूरीमा पर्छ । धार्मिक तथा पर्यटकीय रूपले रमणीय सो स्थान भक्तजनको आस्थाको केन्द्रविन्दु रहेको पाइन्छ । हिन्दू धर्मप्रति विश्वास राख्ने हिन्दू धर्मावलम्बी उक्त मन्दिरमा पूजापाठका लागि बिहानैदेखि लामबद्ध हुनेगरेका छन् ।

मन्दिरका पुजारी गंगा गौतमले मन्दिरमा पूजाराधना गर्नाले सन्तान प्राप्ति एवम् परिवारमा सुखशान्ति मिल्ने बताए । उनका अनुसार मन्दिरमा महादेवको बास भएको शुभसाइतको दिन पारेर रुद्री लगाएर पूजा लगाउनाले सन्तान प्राप्त हुने गरेको छ ।

shares