संघीय संसद्को तेस्रो अधिवेशन भोलि देखि शुरु हुँदै

काठमाडाैं । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन भोलि देखि शुरु हुँदैछ । बैठक भोलि संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे शुरु हुने छ ।

संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । त्यसैले संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्नेमै केन्द्रित हुनेछ । आगामी फागुन २१ गते अर्थात संघीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र संविधानसँग बाझिने कानून नयाँ ल्याएर होस् वा संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने छ ।

कानूनको पहिचान गर्ने र संसद्का दुवै सदनले सबै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने भएकाले यो आफैँमा चुनौतीपूर्ण र बाध्यकारी छ । मुलुकमा विद्यमान रहेका ३३९ कानूनमध्ये १६५ पूर्ण छन् । १७४ वटा कानुन संशोधन र परिमार्जन गरेर संविधान र सङ्घीयतालाई चिनाउनुपर्नेछ ।

यो कामकालागि कम्तीमा पनि ३५ देखि ४० वटा विधेयक आउने अनुमान छ । तर, हालसम्म संसद् सचिवालयमा केबल तीन वटा मात्र विधेयक दर्ता छन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेश संसद् शुरु भएकै दिन सदनमा पेश हुनेछ । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

कार्यसूचीका आधारमा सदनका काम कारवाही अघि बढ्ने छ । ‘मिनी पार्लियामेन्टस्’ का रुपमा प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभाका चार र संयुक्त समिति दुईवटा छन् ।

shares