Breaking News

शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने महाअभियानमा सहभागी हुन प्रचण्डको अाह्वान

काठमाण्डौ, ७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना कम्युनिष्ट पार्टीका नेताहरूलाई शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने महाअभियानमा सहभागी हुन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रान्तिकारी शक्तिहरू सल्बलाइरहेको भन्दै सचेत रहन र पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजान अाग्रह गरे ।

अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीको षडयन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरू सधैं सचेत रहनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दाबी गरे । कार्यक्रममा अध्यक्ष दाहालले पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै पार्टीभित्रको एकतालार्इ सुदृढ गरी जनतासँगको सम्बन्धलार्इ बलियो बनाउँदै लैजानु पर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए । उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउनु पर्नेमा जोड दिए । उनले स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्नुपर्ने पनि बताए ।

shares