विवादै विवादमा तानिएकाे सभामुखकाे इतिहास (हेर्नुहाेस् एक रिपाेर्ट)

काठमाडाैं । बितेका १० दिनमा दुई वटा गंभीर प्रश्न उठे । र, प्रश्नसँगै यसको असर संसदीय कारवाहीमा पनि देखियो । बेला बेला माननीयहरूबाटै उटपट्याङ गतिविधि देखिने संसदमा यसपाली सभामुख विवादमा तानिनुभएको छन् । त्यसो त संसदीय कारवाहीमा सभामुखको भूमिकालाई लिएर प्रश्न उठेको अहिले मात्र होइन । २०४६ को परिवर्तनपछिका सबै सभामुख विवादमा तानिएकाे इतिहास छ । विगतमा सभामुखहरु, कस्तो विवादमा तानिएका थिए ? तपाईं पनि जान्नुस् ।

०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक गठित व्यवस्थापिका–संसदबाट निर्वाचित सभामुख थिए दमननाथ ढुंगाना । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला ‘टनकपुर सहमति नभई सन्धी’ भएकाले संसद्बाट अनुमोदन गराउने पक्षमा उभिएपछि कोइराला पक्षले ढुंगानालाई सभामुख नभई पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकर्ता बनेको आरोप लगाए । अझै पनि कतिपयले यसैकारण कोइरालाले संसद् विघटन गरी आवधिक निर्वाचन घोषणा गरेको ठान्छन् । त्यसबेलाको प्रतिपक्षी नेकपा एमालेले लगातार संसदमा ८ घण्टा नाराबाजी गरेका थिए । तर ढुंगानाले विरोध र नारावाजीका बीचनै संसद चलाउनु भयो ।

यति मात्र होइन एमालेले सदन बहिस्कार गर्दा राष्ट्रिय जनमोर्चाका एक सांसदलाई विपक्षी बनाएर विधेयक पारित गरेको पनि उहाँकै पालामा हो ।

एमालेले त्यतिबेला सभामुख रामचन्द्र पौडेललाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाको छायाँपात्रका रुपमा हेर्थ्याे। सभामुखबाट फर्केपछि पुनः मन्त्री पदसमेत खाएकाे भन्दै पौडेलको आलोचना झन् बढी भयो। उहाँकै पालामा सरकार ढाल्न र बनाउन सांसद् खरिद–बिक्रीको चर्चासमेत चल्यो। अझै गज्जवकाे घट्ना पाैडेलले त्यसबेला छलफलकाे प्रकृयामै नलगी नगरी एक विधेयक पारित गर्नु भएकाे थियाे । यस्तै उहाँले सांसद गोल्चे शार्कीकाे हातबाट कुटाइ खाएकाे घट्ना पनि अहिले धेरैले सम्झन्छन् ।

नेपाली कांग्रेसको उम्मेद्वार हुँदै सभामुख निर्वाचित रानाभाट पार्टी भित्रैबाट समेत असफल ठानिनु भयाे। माओवादी सशस्त्र आन्दोलन चलिरहेको समयमा भएकाे दरबार हत्याकाण्ड र संसद् विघटनमा उहाँलाई नै दाेषी मानियाे । प्रतिपक्षमा रहेका एमाले र मालेले उहाँलाई कांग्रेस कार्यकर्ताको आरोप मात्रै लगाएनन्, कांग्रेसले नै राजावादीको आरोपसमेत लगायाे। संसद विघटनपछि सडकबाटै संसद चलाउन गरेको आग्रह लत्याएपछि उहाँलाई राजावादी समर्थकको आरोप लागेको थियो।

दोस्रो जनआन्दोलनपछि सुवासचन्द्र नेम्वाङ सभामुख रहनुभयाे । संविधानसभा अध्यक्ष र सभामुखका हैसियतमा उहाँ ९ वर्ष रहनुभयाे । उहाँको पुत्ला दहन गर्ने अवस्था समेत बन्यो । संविधानसभा बैठक नबोलाएकै कारण पहिलो संविधानसभा विघटन भएको आरोप नेम्वाङमाथि लाग्यो। त्यसबेला अग्रसरताभन्दा मुर्तीजस्तो निरीह बनेर एमालेलाई लाभ हुनेगरी भूमिका निर्वाह गरेको आरोप माओवादी र मधेशी मोर्चाले लगाए। दोस्रो संविधानसभामा माओवादी नेतृत्वको आन्दोलनकारी शक्तिलाई बेवास्ता गर्दै संविधान जारी गर्न बैठक बोलाइएको भन्दै ५ माघ ०७१ मा संविधानसभाभित्र कुर्सी हानाहान नै भयो। संविधान जारी गर्न बैठक बोलाएर मधेसी मोर्चाको कुरा नसुनेको आरोप उहाँमाथि अझै लागिरहेकै छ।

नेपालमा पहिलो महिला सभामुखको इतिहास ओनसरी घर्तीमगरकाे नाममा छ । तर उहाँकाे कार्यकाल पनि विवादमुक्त रहन सकेन। संसद्को नियमित कार्यसूची पर सार्दै सरकारप्रति परेको अविश्वासको प्रस्ताव पहिले पेस गर्ने निर्णय गरेर उहाँ निकै विवादमा तानिनु भयाे । सभामुख पद, पद मात्र नभइ एउटा सिंगाे संस्था हो । जसले संविधान, नियम-कानून र परम्परा हेर्छ । सभामुख चिप्लिँदा सदनको प्रतिष्ठा मात्र खस्कँदैन लाेकतन्त्र पनि कमजाेर बन्न जान्छ । यस्ता घटना घरिघरि भइरहँदा सभामुखको ओज पनि दिनदिनै घट्दै जान्छ ।

shares