Breaking News

रौतहटमा व्यवसाय अँगाल्दै नेताहरू

काठमाण्डौ, ८ साउन । रौतहटमा राजनीति गर्दै आएका नेताहरूले राजनीतिसंगै व्यवसायिक पेशा अँगाल्न थालेका छन् ।

नेकपाका युवा नेता अब्दुल वाहीदले चन्द्रपुरमा नमूना कृषि फर्म सञ्चालनमा ल्याएका छन् । करिब ४० लाखको लागतमा उनले आफ्नै कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । चन्द्रपुर नगरपालिका वडा नं ६ महादेव मन्दिरस्थित अढाई बिघा जमिन भाडामा लिएर कृषि फर्म सञ्चालन गरेको उनले बताए ।

अहिले कुखुरा, माछा, राँगा तथा गाई पालनमा अन्सारी सक्रिय छन् । फर्ममा ३ हजार कुखुराको चल्ला राख्ने स्थान, १ सयवटा राँगा र गाई राख्ने गोठ र १५ कठ्ठामा तीनवटा माछापालनका लागि पोखरी निर्माण गरी व्यवसाय थालेको उनले बताए ।

२०५७ सालदेखि नेकपा माओवादी पार्टीमा लागेर राजनीतिमा संघर्ष गर्दै आएका नेता वाहीद अन्सारीले पार्टीले लिएको नीति अनुसार आफूले ब्यवसाय थालेको बताए । राजनीतिसँगै जिविकोपार्जन गर्न व्यवसाय गर्नुपर्ने उनको बुझाइ छ । तर सरकारी स्तरबाट पाउनुपर्ने सेवा सुविधा र अनुदान नपाएको उनको गुनासो छ ।

अनुदानको विषयमा राज्यले अनुगमन गर्नुपर्ने र वास्तविक कृषि क्षेत्रमा लागेकाहरूलाई दिनुपर्ने उनको तर्क छ । उनले वार्षिक प्रति कठ्ठा ३ हजार रूपैयाँको भाडामा अढाई बिघा जग्गामा एकीकृत कृषि व्यवसाय सञ्चालनमा ल्याएका हुन् । वर्षको सबै खर्च कटाएर करिब १० लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

फर्ममा ५ जना स्थानीयले पनि रोजगारी पाएका छन् । यता नेकपाका नेता तथा पूर्व सभासद देवेन्द्र पटेलले रौतहटको बृन्दावन नगरपालिकास्थित बलेरी गाँउमा पशुपालन व्यवासय गरिरहेका छन् ।

shares