Breaking News

राष्ट्रिय सभाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अध्यक्षको दाबी

काठमाण्डौ, ८ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन् ।

मंगलबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न ऐन कानून निर्माणका लागि आएका विधेयकलाई बैठकले अघि बढाइरहेको भन्दै राष्ट्रिय सभा प्रभावकारी रूपमा नै अघि बढिरहेको बताए ।

प्रतिनिधीसभा बैठकको कामसँग राष्ट्रियसभाको कामलाई तुलना गर्न नमिल्ने भन्दै उनले दुवै सदन नीति नियम निर्माणको विषयमा सकारात्मक रूपमा अघि बढेको जिकिर गरे । उनले सरकारले विधेयक नल्याएका कारण बैठक एजेण्डाबिहीन मात्र देखिएको टिप्पणी गरे । तिमिल्सिनाले कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको मंगलबारको बैठक स्थगित गर्नु परेको जिकिर गरे ।

यता कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने मंगलबारको राष्ट्रियसभा बैठक सत्तापक्षका कारण अवरुद्ध भएको आरोप लगाए । आफूहरूले समसामायिक विषयमा धारणा राख्न खोजेपनि सत्तापक्षका सांसदहरूले बोल्नका लागि माग राख्दै षडयन्त्रमुलक ढंगले बैठक अवरुद्ध गरेको उनको भनाइ छ ।

उनले सरकारले अहिले कुनै पनि विधेयक सदनमा ल्याउन नसकेको आरोप पनि लगाए । राष्ट्रियसभाको मंगलबारको बैठकमा ४ वटा विषयगत समितिका रहने सदस्यहरूको नामावली घोषणा गर्ने कार्यसूचि रहेको थियो ।

shares