Breaking News

राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे सवारी गुडाउन नपाइने

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाको राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे सवारी साधन गुडाउन नपाइने भएको छ ।

उच्च अदालत हेटौंडाले भरतपुर महानगरपालिकाको राजमार्ग क्षेत्रभित्र तीन पांग्रे सवारी साधन चलाउन रोक लगाउने निर्णयविरुद्ध परेको रिटलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएपछि महानगरले उक्त योजना कार्यान्वयन गराउन लागेको हो ।

अदालतले साउन ४ गते तत्काल निर्णय कार्यान्वन नगर्न भन्दै दुवै पक्षलाई बहसका लागि उपस्थित हुन आदेश दिएको थियो । सोमबार भएको बहसपछि अदालतबाट जारी स्टे अर्डरलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीका अनुसार अाजैबाट विभिन्न स्थानमा ट्राफिक प्रहरी, महानगरीय प्रहरीहरू राखेर सो निर्णयको कार्यान्वयन गरिने बताए । भरतपुर महानगरपालिकाले साउन ५ गतेबाट कार्यान्वयन हुनेगरी वाईपास रोड, पूर्व–पश्चिम राजमार्ग, मुग्लिन सडकखण्डमा तीन पांग्रे सवारी साधन चलाउन रोक लगाउने तयारी गरेको थियो ।

अदालतको अादेशानुसार महानगरले १९ ठाउँबाट तीन पाङ्ग्रे सवारी साधनलाई क्रस गर्न पाउने व्यवस्था मिलाउनेछ । भरतपुरको बाइपासरोडतर्फ बसेनी चोक, विशाल चोक, नहर चोक, आन्तरिक राजस्व कार्यालय चोक, मालपोत चोक, हुलाक चोक र थानी चोकबाट बाटो काट्न पाइने छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत लायन्स चोक, चौबीसकोठी, रिजाल चोक र हाकिम चोकबाट बाटो क्रस गर्न पाइनेछ भने मुग्लिन–नारायणगढ सडकतर्फ भने पोखरा बसपार्क चोक, लीला चोक, उद्योग वाणिज्य संघ चोक, युथ क्लब चोक र पुल चोकबाट बाटो काट्न पाइने छ ।

shares