यातायातका आधा कर्मचारी अख्तियारको जालमा

काठमाडाैं । यातायात कार्यालयमा खुलेआम घुसको लेनदेन हुन्छ, यो त ओपन सेक्रेट नै छ । अव यो ओपन सेक्रेट तथ्य यातायात व्यवस्था विभागका लागि नै गंभीर चिन्ताको विषय बन्दैछ । किनभने यातायातका आधा कर्मचारी अख्तियारको जालमा फसिसकेका छन् ।

५० प्रतिशत कर्मचारीमाथि मुद्दा परिसक्यो भनेर यसरी सूचना भनौ कि लाचारी सुनाउने व्यक्ति हुनुहुन्छ, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकाल । महानिर्देशक ढकाल शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समिति बैठकमा जानुभएको थियो, जहाँ माननीयले विभागबाट हुने कामको तरिकावारे प्रश्न उठाए । जवाफमा महानिर्देशक ढकालले अख्तियारको जालमा फसेका कर्मचारीको हिसाव-किताव बुझाउनुभयो । र, कामकार्वाही पुरै प्रभावित भएको गुनासो सुनाउनुभयो ।

 एकातिर कर्मचारीमाथि अख्तियारले मुद्दा चलाएपछि काम प्रभावित भएको बताउने महानिर्देशक ढकालले नेताले प्रचारकै लागि योजना बनाउँदा दुख पाएको पनि सुनाउनुभयो । स्मार्ट लाईसेन्स वितरणमा राजनीतिक नेतृत्वले सस्तो लोकप्रियताको लागि प्रचार गर्दा विभागले दुख पाएको खुलासा गर्नुभयो ।

अख्तियारले बुधवार मात्रै यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुनी रुपमा एक करोड ३४ लाख पाँच सय ७६ रुपैया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सरकारले सार्वजनिक सेवालाई व्यवस्थित बनाउदै गएको दावी गरेको छ । र, भ्रष्टाचारमा शुन्य सहनशिलताको निति लिएको छ । तर, यातायातका कर्मचारी अझै सुध्रेका छैनन् । विभागका निर्देशकले आधा कर्मचारीमाथि मुद्दा चल्यो भनेर राखेको अभिव्यक्ति त्यहाँका कर्मचारी नुसध्रिएको बलियो प्रमाण हो । किनभने उहाँले चाहेर पनि आफुहरुले बदमासी रोक्न नसकेको यसरी स्वीकार गर्नुभयो ।

shares