Breaking News

मेगा बैंकको गत वर्षको निक्षेप संकलन ६३ अर्ब

काठमाण्डौ, ७ साउन । मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । नवौँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले कर्जा प्रवाह पनि करीब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको समेत जनाएको छ ।

बैंकका अनुसार ग्राहक संख्या पाँच लाख रहेको छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेप एक लाख २२ हजार रहेको छ । स्थापनाको नवौं वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वाटर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने जानकारी दिए । विज्ञहरूसँगको परामर्शमा पाँच वर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेको भन्दै उनले आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्ने जानकारी दिए ।

त्यस्तै बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रूपमा स्थापित भएको दाबी गरिन् । हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

shares