मानवरहित अन्तरिक्ष यान उतारेर चन्द्रमामा चीनकाे नयाँ किर्तिमान

सरस्वती कर्माचार्य

काठमाडाैं । चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमाको डार्क साइडमा सफलतापूर्वक अवतरण भएको छ । चीनले सन् २०१३ को डिसेम्बर १४ मा चन्द्रमामा मानवरहित अन्तरिक्ष यान च्याङघे थ्री सफलतापूर्बक अवतरण गराएर ३७ वर्षपछि चन्द्रमाको सतहमा अन्तरिक्ष यान उतार्ने पहिलो राष्ट्र बनेको थियो । यसअघि रुसले सन् १९७६ मा लुना ट्वान्टी फोरलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको थियो ।

चन्द्रमामै अर्को मानवरहित अन्तरिक्ष यान उतारेर चीनले फेरि नयाँ किर्तिमान कायम गरेको छ । मानवरहित चिनियाँ अन्तरिक्ष यान च्याङघे फोर कहिल्यै पनि नदेखिने र अहिलेसम्म अध्ययन नभएको डार्क साईड भनिने चन्द्रमाको पछाडिको क्षेत्रमा बिहीबार बिहान सफलतापूर्वक अवतरण गरेको छ ।

डार्क साईड भनिए पनि त्यो भागमा सूर्यको प्रकाश पुग्ने गरेको थियो । अन्तरिक्ष बैज्ञानिकहरु डार्क साइडको रहस्य खोतल्न असफल रहँदै आएको बेलामा च्याङघे फोरको सफल अवतरण उपलब्धीपूर्ण मानिएको छ । गत डिसेम्बर ८ मा प्रक्षेपण गरिएको च्याङघे फोर दक्षिणी ध्रुवमा १ सय ७७ दशमलब ६ डिग्री पूर्वी देशान्तर र ४५ दशमलब ५ डिग्री दक्षिणी अक्षांशको क्षेत्रको सतहमा अवतरण भएको हो ।

यो यानले अवतरण त्यस क्षेत्रको केही तस्वीरहरु पृथ्वीमा पठाइसकेको छ । यद्यपी च्याङघे फोर र चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनबीच प्रत्यक्ष सम्पर्क हुन नसकेका कारण तस्विरहरु अर्को अन्तरिक्ष यानमार्फत पठाइएको हो । भूगर्भ र जैविक अनुसन्धानका उपकरणहरु बोकेर गएको यो अन्तरिक्ष यानले चन्द्रमाको भूसतह तथा माटो र चट्टानको बनोटको प्रकृति विश्लेषण गर्ने र खनिजको अवस्थाको विस्तृत मापन गर्ने छ ।

यसले चन्द्रमाको उक्त क्षेत्रको चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउने चिनयाँ वैज्ञानिकहरुले बताएका छन् । विश्व महाशक्तिका रुपमा उदाएको चीनको यो अभियानलाई अन्तर्राष्ट्रिय बृत्तमा बैज्ञानिक अभियानको रुपमा मात्र नभइ भूराजनीतिक र अन्तरिक्ष राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने अभियानको रुपमा हेरिएको छ ।

shares