मन्त्री महासेठद्वारा सिन्डिकेट अन्त्य गर्न नसकेकाे स्वीकार

काठमाडाैं । यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीसँग निर्भर भएर बस्नुपर्ने बाध्यताका कारण सिन्डिकेट अन्त्य गर्न नसकेकाे स्वीकार गर्नुभएकाे छ ।

संसदकाे विकास तथा प्रविधि समितिकाे आजकाे बैठकमा सांसदका प्रश्नकाे जवाफ दिनेक्रममा मन्त्री महासेठले सरकारसँग विकल्प नभएकाले यातायात क्षेत्रकाे सिन्डिकेट ताेड्न नसकेकाे स्वीकार गर्नुभएकाे हाे ।

मन्त्री महासेठले यसबाट पाठ सिकेरै सरकारले ३०० वटा विद्युतीय बस किन्न लागेकाे बताउनुभयाे । उहाँले यातायात प्राधिकरण गठन गरी वैशाख १ गतेदेखि ती बस काठमाडाैं उपत्यकामा गुडाउने तथा देशभर विस्तार गर्दै लैजानेसमेत ‍जानकारी दिनुभयाे ।

त्यस्तै मन्त्री महासेठलेचालककाे लावपरवाहीका कारण दुर्घटना बढेकाे भन्दै सवारी चलाउँदा माेबाइल फाेनमा कुरा गरे चालककाे लाइसेन्समा प्वाल पारिदिने व्यवस्था गर्न यातायात विभागलाई निर्देशनसमेत दिनुभयाे।

मन्त्री महासेठले सडककाे दुरावस्थाले दुर्घटना बढाएकाे भन्दै सडककाे स्तरउन्नती सरकारकाे पहिलाे प्राथमिक्तामा रहेकाे समेत दाबी गर्नुभयाे । त्यस्तै महासेठले अब बन्ने हरेक बाटाे र पुल कम्तीमा पनि दुई लेनकाे हुनैपर्ने व्यवस्था गरिएकाे समेत उल्लेख गर्नुभयाे ।

shares