Breaking News

भवन निर्माणको नयाँ नीति खेलकुदमैत्री हुने

काठमाण्डौ, ९ साउन । काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मापदण्ड बनाएर भवन निर्माण बनाउने नयाँ नीति ल्याउन लागेको भन्दै उक्त नीति खेलकुदमैत्री हुने दाबी गरेका  छन् ।

उनले उपत्यकामा घर निर्माणको संख्या बढ्दै गएको अवस्थामा नयाँ नीतिले खाली ठाउँ रहने र त्यसलाई खेल मैदान बनाउन सकिने बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार काठमाडौमा आयोजना गरेको कार्यनीति, ग्रासरुट, विधान र नियमावली बनाउनेबारे क्लबस्तरीय गोष्ठीको उद्घाटन गर्दै शाक्यले अहिले चाहेर पनि उपत्यकमा खेल मैदान बनाउन नसक्ने बाध्यता रहेको जिकिर गरे ।

मेयर शाक्यले खेलकुदले स्वस्थ नागरिक उत्पादन, खेल पर्यटनको विकासबाट समृद्धि तथा राष्ट्रिय एकतामै महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेल क्षेत्रको विकासका लागि महानगरले योजना अघि सारेको जानकारी दिए । काठमाडौ महानगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै जाने प्रतिबद्धता जनाउँदै उनले खेलाडीको पुरस्कारको जिम्मा पनि महानगरले लिने स्पष्ट पारे ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कानूनी रूपमा बलियो नभएसम्म संस्थाले गरेको निर्णय पारदर्शी नहुने हुँदा आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपछि पूर्व घोषित योजनाअनुरुप आफूहरू नयाँ ढंगले अघि बढ्न खोजेको बताए । उनले केन्द्रीय, प्रदेश र स्थानीय तहको समन्वयबाट फुटबलका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यनीति, ग्रासरुट, विधान र नियमावली कस्तो बनाउनेबारे भन्ने विषयमा यसअघि विभिन्न प्रदेशमा समेत छलफल चलाएको थियो ।

shares