Breaking News

भरतपुरमा झडप: प्रहरीद्वारा १० राउन्ड हवाइफायर, दर्जनौँ अश्रुग्यास प्रहार

चितवन, ९ साउन । भरतपुरमा अटो रिक्सा तथा ट्याम्पो मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । महानगरपालिकाले  साउन ५ गतेदेखि तीन पांग्रे सवारीलाई राजमार्गमा गुड्न नदिने निर्णय गरेपछि सो निर्णयको विरुद्धमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

केन्द्रीय बस टर्मिनल चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ भने आन्दोलनकारीहरूले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेका छन् । आन्दोलनकारीहरूले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

झडपका क्रममा ११ जना सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले १० राउन्ड हवाइफायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको चितवन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । अहिले स्थिति नियन्त्रणमा अाइसकेको पनि उनले बताए ।

बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिने खोजेको तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरले जानकारी दिए । केही आन्दोलनकारीहरूलाई पक्राउ गरिएको पनि जनाइएको छ ।

सम्बन्धित समाचार-

राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे सवारी गुडाउन नपाइने

shares